दक्षिण अफ्रिका अपराजित रहँदै आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘सुपर-८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह-२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

पानी परेपछि ओभर र लक्ष्य घटाउँदै आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर बलिङ रोजेको दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।
समूह-२ बाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्यान्डले गए राती भएको खेलमा अमेरिकालाई दश विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको हो । सुपर ८ मा अमेरिकाले एक खेल पनि जित्न सकेन । यस समूहबाट अमेरिका र वेस्ट इन्डिज बिश्वकपबाट बाहिरिएका छन् ।
