पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपको उपाधि विभागिय टोली नेपाल आर्मी क्लबले जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५-१ गोलले पराजित गर्दै च्याम्पियन भएको हो ।

उपाधिसँगै आर्मीले नगद रु ५० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो भने उपविजेता पुलिस क्लबले नगद ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेका दुबै विभागिय टोली निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा रेफ्रिहरुको निर्णयको विरुद्ध पुलिसले केही समय मैदान छोडेको भए पनि अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै आर्मीका लागि गोल गर्न मौका दिएको थियो । विवाद हुनु अघि आर्मी २ गोल गरेको थियो भने पुलिसले १ गोल गरेको थियो ।

खेलमा आर्मीका लागि प्रदिप राजवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे । पुलिसका लागि रोमन रानाले १ गोल गरेका थिए । फाइनल खेलमा आर्मीका मनोज चौधरी प्लेयर अफ दि म्याच चुनिए ।

घरेलु टोली गण्डकीले कर्णाली प्रदेशलाई ७-१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो । गण्डकीका लागि प्लेयर अफ दि म्याच समेत रहेकाअशिम बाहेकले ३ गोल गर्दा प्रेम विकले २, कुशल नेपाली र पवन परियारले समान १-१ गोल गरे । कर्णालीका लागि एक मात्र सान्त्वना गोल जिवन रावतले गरे । तेस्रो स्थान प्राप्त गरेको गण्डकीले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गरेको छ ।

यहि असार १० गतेबाट सञ्चालन भएको खेलमा नेपाल आर्मीका दिपेन्द्र ऐर प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।त्यस्तै अन्य विद्यागततर्फ सबै उपाधि आर्मीका खेलाडीहरुले हात पारेका छन् । सार्वधिक गोलकर्ता प्रदिप राजवंशी, उत्कृष्ट डिफेन्डर रोशन चौधरीले हात पारे भने इमर्जिङ प्लेयरको ट्रफी कर्णाली प्रदेशका शुसान्त रोकायले प्राप्त गरेका छन् । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे ।

बिजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगिता दुई विभागिय टोली र विभिन्न ६ प्रदेशका गरी ८ टिमको सहभागिता रहेको संघकी महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *