नेपाल क्रिकेट फाउण्डेसनको आयोजना र मेरलिवन क्रिकेट क्लब फाउण्डेसन (एमसिसिएफ) र क्रिकेट विथआउट वाउण्ड्री (सिडब्लुबी) को सहयोगमा सम्पन्न तेस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सरस्वती स्कुलले जितेको छ ।
विराटनगर ६ स्थित मेरलिवन विराटनगर ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ३९ रनको विशाल योगफल खडा गरेको थियो । १ सय ४० रनको विशाल लक्ष्य पछ्याएको आर्दश वालिकाले १३ दशमलव २ ओभरमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो ।

मोरङ्ग जिल्ला क्रिकेट संंघ प्रबर्धक रहेको उक्त प्रतियोगिताको विजेता तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ्ग जिल्ला क्रिकेट संंघका अध्यक्ष साद कुरेसी र नेपाल क्रिकेट फाउण्डेसनका बोर्ड सदस्य स्नेहा गुभाजुले पुरस्कार तथा ट्रफि वितरण गर्नु भएको थियो ।
जेष्ठ २६ र २७ दुई दिन चलेको प्रतियोगितामा विराटनगरका ६ सामुदायिक स्कुल आर्दश, आर्दश वालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिएका थिए । सहभागी विधालयहरुले सिंंगल राउन्ड रोबिन लिगका आधारामा प्रतिस्पर्धा गरेका थिए ।
