कोशी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार कोशी गण्डकी प्रदेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

गण्डकीले खेल २५-२१, २५-१९, २५-२० ले आफ्नो पक्षमा पार्यो । तीनै खेलमा पराजित कोशी अंकविहिन छ भने तिनै खेल जितेको गण्डकीले तीन खेलमा ९ अंक जोडेको छ ।

कोशीले यसअघि आर्मी र हेल्प नेपालसँग समान ३-० को हार ब्यहोरेको थियो । यसअघि गण्डकीले एपिएफलाई ३-१ र सुदूरपश्चिमलाई ३-० ले पराजित गरेको थियो ।

सोमबार नै सम्पन्न पुरुषतर्फका खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले सुदूरपश्चिम प्रदेश, पुलिसले बूढानीलकण्ठ भलिबल क्लब तथा आर्मीले एपिएफलाई समान ३-० को सोझो सेटमा पराजित गरे ।

यसैगरी महिलातर्फ सोमबार नै सम्पन्न खेलमा एपिएफले कर्णाली प्रदेश तथा एभरेस्ट भलिबल क्लबले आर्मीलाई समान ३-० को सेटमा हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *