टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ।
एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा आज विहानभएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बल खेल्दै ७३ रनको लक्ष्य भेट्टायो।
७३ रनको झिनो लक्ष्य भेट्टाउने क्रममा अष्ट्रेलियाका ट्रेभिस हेडले ३४ तथा मिचेल मार्स १८ रनमा नटआउट रहे। ओपनर डेभिड वार्नर २० रन बनाएर आउट भए। त्यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रनमात्र बनाउन सक्यो।
नामबियाका जेराड इरामुसको ३६ रन नै सर्वाधिक रह्यो। यस्तै ओपनर माइकल भानले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सब्यानले दोहोरो अंक बनाउन सकेनन्।
अष्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए। चार ओभर बलिङ गरेका जाम्पाले १२ रन खर्चेर ४ विकेट चट्काए। मार्कस स्टोनिस र जोश हाजउडले समान २-२ विकेट लिए।
समूह बीमा रहेको अस्ट्रेलियाले लगातार तीन खेल जित्दै सुपर ८ मा प्रवेश गरेको छ। समान तीन खेल खेलेको स्कटल्याण्डको पाँच अंक रहेको छ। नामिबियाले भने तीन खेलमा एक जित निकालेको छ।
आजै समूह ए अन्तर्गतको अमेरिका र भारतबीच हुँदै छ। न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा बजेदेखि शुरु हुनेछ।
जारी विश्वकपमा अमेरिका र भारत अपराजित छन्। भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको छ। अमेरिकाले पाकिस्तान र क्यानडालाई हराएको छ।
