सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार गोल बजार स्पोर्टस क्लब र पुल्चोक स्पोर्टस क्लब १-१ को बराबरीमा रोकिएका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा अग्रतालाई जोगाउन नसक्दा गोलबजार अंक बाँड्न बाध्य बन्यो । गोलबजारका लागि ओमप्रकाश सिंह र पुल्चोकका लागि सागर थिङले गोल गरे ।
यो नितजासँगै १० खेलमा २० अंक जोडेको पुल्चोक दोस्रो स्थानमा उक्लिएको छ । गोलबजार समान खेलबाट ६ अंकका साथ पुछारमै छ ।
खेलको १६औं मिनेटमा ओमको गोलमार्फत गोलबजारले अग्रता लियो । उनले सामिल राईको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।
सागरले ५७औं मिनेटमा पुल्चोकलाई बराबरीमा ल्याए । सागरले हरिहर बुढामगरको क्रसलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले १/१ अंक बाँडे ।
लिग अन्तर्गत आइतबार नै सम्पन्न अर्को खेलमा झम्सिखेल युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।
