धनकुटामा सम्पन्न १६ औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ।

धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा सम्पन्न प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड क्लब झापाले उपाधि चुमेको हो। झापाले खेलको ५१ औं मिनेटमा कप्तान आशिष चापागाईंमार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औं मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २-० को अग्रतामा पुऱ्याए।

यसैगरी दोस्रो हाफको इन्जुरी समयमा झापाकै देवेन्द्र तामाङले गोल गर्दै ३-० गोलको अग्रता बनाउँदै टोलीलाई जित दिलाए। त्यसपछि डिबक्सभित्र झापाका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी प्रहार गरेका एपीएफका सुमन श्रेष्ठको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोकेका थिए।

उपाधि विजेता बिर्तामोड युनाइटेड क्लब झापाले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्यो। उपविजेता बनेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ कपमा चित्त बुझायो। यसैगरी भीमनारायण गोल्डकपको यो संस्करणको प्लेयर बेस्ट खेलाडी झापाका आशिष गुरागाई घोषित हुँदै नगद १७ हजार ५५५ रुपैयाँ हात पारे।

यस्तै उत्कृष्ट गोलकिपर झापाका सन्दीप लिम्बू, बेस्ट मिल्ड फिल्डर एपिएफका बुद्धिमान राई, बेस्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट फरवार्ड झापाका अभिषेक गुरुङ र बेस्ट कोच झापाका योगेश गुरुङ घोषित भए। उनीहरूले जनही नगद ७ हजार ५५५ रुपैयाँ हात पारे।

खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *