पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्।

पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन्। सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

दुवै प्रतिस्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ। ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा १ मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङनै राष्ट्रिय कीर्तिमान हो।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत २ महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए। श्रेष्ठ पनि अफिसियलका रुपमा सिंगापुर जाँदै छन्।

गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद हो। त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए। ४१ वर्षीय कुमाल एम्पुटी फुटबलका पनि खेलाडी हुन्।

भीमले पेरिस पारालिम्पिकमा छनोट हुने लक्ष्य रहेको बताउदै भने ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ। यो एउटा सुनौलो अवसर हो। सक्दो प्रयास गर्ने छु।’

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य-सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जाने छन्। प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदै छन्। सो अवसरमा सदस्य-सचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोश्रो खेलाडी बन्न खेलाडीलाई शुभकामना दिए।

‘पेरिस पारा ओलम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन छनोट भइ इतिहास रची सक्नु भएको छ। पलेशा पारालिम्पिकमा छनोट चरण पार गरी खेल्ने पहिलो नेपाली खेलाडी हुनु हुन्छ।’ सदस्य-सचिव घिसिङले भने ‘अब पालो तपाईं (भीमबहादुर) को हो। राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नु होस्। शुभकामना।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *