बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो ।
काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका अध्यक्ष टासी घले, बाह्रखरीका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सचदेवलाई सम्मान गरेका थिए ।
सचदेवले गोकर्ण गल्फ कोर्स निर्माण गरेका थिए । सन् १९९५ देखि १८ होलको गल्फ कोर्स र होटल निर्माणको प्रक्रिया थालेका थिए । भारतीय मूलका व्यवसायी सचदेवले नेपालमा त्यसबेला एक अर्ब बढी लगानी गरेका थिए। मन्त्री श्रेष्ठले नेपाली गल्फ क्षेत्रमा उनको योगदान अतुलनिय भएको बताए । यस्तै, उनले बाह्रखरी गल्फले खेल पयर्टन बढाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।
बाह्रखरीका अध्यक्ष तथा प्रधान सम्पादक प्रधानले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजभन्दा ६ वर्षअघि बाह्रखरी गल्फको सुरुआत गरेको स्मरण गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बाह्रखरी गल्फले नेपालमा खेल पयर्टनलाई प्रवर्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।
गल्फ संघका घलेले नेपालमा गल्फ प्रवर्धन गर्न बाह्रखरीले गल्फलाई अभियानको रुपमा अघि बढाएको बताए । बाह्रखरी मिडियाका उप-महाप्रवन्धक सूर्य घिमिरेले नेपालमा पहिलो पटक गल्फ दिवस मनाउन पाउँदा खुसी व्यक्त गरे ।
