पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना र एलेक्जेन्डरले ओपन इभेन्टमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यसबाहेक १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठले पनि पेरिस ओलम्पिक खेल्ने निश्चित भइसकेको छ । सन्तोषी पनि युनिभर्सियालिटी कोटाबाट नेपालको सहभागिता जनाउनेछिन् । ओलम्पिकमा एथलेटिक्स र पौडीमा युनिभर्सियालिटी कोटा हुन्छ ।

महासचिव श्रेष्ठलेसम्बन्धित संघको सिफारिसमा एनओसीले आयोजक कमिटिलाई नाम पठाएको सोही अनुरुप स्वीकृति भएको जानकारी दिए ।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने पेरिस ओलम्पिकमा अहिलेसम्म ५ नेपाली खेलाडीको सहभागिता पक्का भएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने पक्का भइसकेको छ । स्यान्टुले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । प्रिन्स पनि युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्दैछन् ।

काठमाडौंमा बिहीबार भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् । छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्। यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *