विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्लबलाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो ।
जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । उपबिजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चिक्त बुझायो ।
वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ २४६ रन बनाएको हो । जितको लागि वाइआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै सतक कटाए । उनले ३४ बलमा ११२ रन बनाए । खनालले १२ छक्का र ८ चौका हिर्काए । उनले यसअघि पनि २९ बलमा सतक कटाएका थिए ।

नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कन्डेल, श्रवर्ण किस्कुले समान २-२ विकेट लिए।
वाइआरसीसीले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७.१ ओभरमा सबै विकेट गुमाइ ४६ रन मात्रै बनाए । सुजन थपलियाले १२ रन, दिपेश कन्डेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रमक बलिङ गरे । उनले एक्लै ३.१ ओभरमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवर्ण किस्कु, बेस्ट ब्याटर वाइआरसिसिका देव खनाल र म्यान अफ द श्रीरिज वाइआरसिसिको अभिषेक पाठक घोषित भए । प्लेर अफ द म्याच वाइआरसिसिका हेमन्त धामी भए ।
बिजेता हुने टिमलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले बितरण गरेका थिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
