जोन्सन चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको तेस्रो ट्वान्टी-२० खेलमा २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको हो ।

चौथो ओभरको पहिलो बलमा एलिक १७ ओपनर एथानाज रनमा रन आउट भएका थिए । रोहितकुमार पौडेललाई आराम दिँदै कप्तानी सम्हालिरहेका दीपेन्द्रसिंह ऐरी र विकेटकिपर अनिल साहले मिलेर उनलाई पेभिलियनको बाटो देखाएका थिए ।

तर, तेस्रो नम्बरमा कृजमा उत्रिएका फ्लेचरसँग जोनसनले सम्हालिएको इनिङ्स खेले । ५५ बलमा शतक पूरा गरेका उनले वेस्ट इन्डिजको स्कोर बोर्डमा अविजित रहँदै ११९ रन थपे ।

६१ बल खेलेका जोनसनले १३ चौका र ७ छक्क प्रहार गरे । तेस्रो नम्बरमा उत्रिएका फ्लेचरले भने आफ्नो इनिङ्सलाई अन्तिसम्म लैजान सकेनन् । ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका उनी १५औं ओभरको पाँचौं बलमा दीपेन्द्रबाट क्याच आउट भए ।

प्लेचरपछि कृजमा आएका फेबियन एलेन १९ रनमा दीपेन्द्रबाट क्याच आउट हुँदा किमो पल १३ रनमा अविजित रहे ।

नेपालका करण केसी र सागर ढकालले १/१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *