सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार आरसी ३२ फुटबल एकेडेमी पुल्चोक स्पोर्टस क्लबसँग २-२ को बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा दुई गोलको अग्रता जोगाउन नसक्दा आरसी ३२ अंक बाँड्न बाध्य बन्यो ।
यो नतिजासँगै ११ खेलमा २३ अंक जोडेको आरसी ३१ दोस्रो स्थानमा छ । पुल्चोक समान खेलबाट २१ अंकका साथ तेस्रो स्थानमा छ ।
आरसी ३२ का लागि किस्मत लिम्बु र अशिष लावतीले गोल गरे । पुल्चोकका लागि श्यरब लोतामाङले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको ३२औं मिनेटमा किस्मतको गोलमार्फ आरसी ३२ ले अग्रता लियो । उनले रुद्रबहादुर कार्कीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।
आशिषले ४२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले सुजन बलम्पाकीमगरको श्रु पासलाई जाली चुमाए ।
आरसी ३२ ले आफ्नो अग्रतालाई दोस्रो हाफमा भने जोगाउन सकेन । ४८औं मिनेटमा श्यरबले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । उनले डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।
आरसी ३२ का रक्षक सञ्जय सुब्बाबाट ६८औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा खेल २-२ को बराबरीमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले अंक बाँडे ।
