नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। लामिछाने आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाले आफूलाई फेरि पनि भिसा नदिएको जानकारी दिएका हुन्।
लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि माफी मागेर उनलाई भिसा दिएको थियो।
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।
अमेरिकी दूतावासले ५ वर्षअघि पनि रोकेको थियो सन्दीपको भिसा अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा ५ वर्षअघि पनि रोकेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर आजै जसरी सन्दीपलाई फर्काइएको थियो ।
सन्दीपले त्यसबारेमा पनि सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए । अमेरिकी दूतावासको ह्याण्डल तथा तत्कालीन अमेरिकी राजदूत रेन्डी बेरीलाई मेन्सन गर्दै लामिछानेले लेखेका थिए, ‘आज मैले सीपीएल प्रतियोगिता खेल्नको लागि भिसा लिन अमेरिकी दूतावास गएको थिएँ । नेपालको प्रतिनिधित्व गरेर सन् २०१६ बाट राष्ट्रिय टीमबाट विश्वभर क्रिकेट खेल्दै आएको मलाई भिसा अस्वीकार हुँदा ज्यादै ठूलो अनौठो लागेको छ । म यो सबै देखिरहँदा मुस्कुराइरहेको थिएँ, अवाक भएको थिए । सबै चाहिने कागजात हुँदा पनि मलाई भिसा दिइएन । खेलाडीको रूपमा मलाई सीपीएल २०१९ खेल्न अब गाह्रो हुनेछ ।’
सन्दीपले यस्तो आलोचनात्मक द्वीट भाइरल भएसँगै अमेरिकी दूतावासको व्यापक आलोचना भएको थियो । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैं बोलाएर भिसा दिएको थियो ।
योपटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्काले सन्दीपलाई लिएर फेरि दूतावास गएका छन्।
