वैशाखको दोस्रो साता चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासंघले नगदसहित सम्मान गर्ने भएको छ ।
महासंघले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगितामा पदक जित्ने ६ जना खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा बैशाखको दोस्रो साता सम्पन्न भएको प्रतियोगितामा नेपालले २ रजत र ४ काँस्य पदकसहित कुल ६ वटा पदक जितेको हो ।
महासंघले रजत विजेता खेलाडीलाई १० हजार र काँस्य पदक विजेता खेलाडीलाई ७ हजार नगदसहित आगामी शनिबार बौद्धमा सम्मान गर्ने महासंघका महासचिव ल्हाक्पा छिरी लामाले जानकारी दिए । नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ वटै काँस्य पदक जितेको थियो ।
यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १-१ कास्य पदक नेपालले आफ्नो पोल्टामा पारेको थियो । सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेका थिए । संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन् । स्वर्ण पदक ल्याउन नसके पनि संजिव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनौट हुन सफल भएका छन् । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालका तर्फबाट सर्वाधिक ९ दशमलब ६६३ स्कोर प्राप्त गरी दिपक हमालले काँस्य पदक जितेका थिए । १८ राष्ट्र सहभागी थाउलोको नानछान इभेन्टमा दिपकले काँस्य पदक जितेका हुन् ।
उनी आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि पनि छनौट भएका छन् । एशियन गेम पछिको ठूलो र स्तरीय प्रतियोगिता थियो दिपकले भने र, विश्वकपका लागी अहिलेको प्रशिक्षण र तयारीले पुग्दैन थप मेहेनत गर्नुपर्छ । उनले नेपाली खेलाडीलाई खेल्ने हलदेखी न्युट्रेसनको समस्या छ । महासंघका अध्यक्ष वीर बहादुर तामाङले विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले उसुको सान्सौ र थाउलो विश्वकपको तयारीका लागि सक्दो प्रयास गरिरहेको बताए । उनका अनुसार चाइना उसु एसोसियसनसँग करिब ३ महिने प्रशिक्षणका लागि महासंघले प्रयास गरिरहेको छ । महासंघका सचिव एवं प्रशिक्षक निकेश श्रेष्ठले चीनमा भएको सो प्रतियोगिताले अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान थपिएको बताए । प्रतियोगितामा राम्रो प्रर्दशन गरेका विजय सिंजालीले अझै राम्रो स्थानमा प्रशिक्षण गर्न सके एशियाली खेलकुदमै स्वर्ण जित्न सकिने विश्वास दिलाए ।
खेलाडी आफैले खर्च गरेर विदेशमा ट्रेनिङ या प्रतियोगिता खेल्न जानुपर्ने बाध्यता छ, उनले भने, राम्रो ठाउँमा ट्रेनिङ गर्न पाए र खेलेर आउँदा सम्मान पाए अझ राम्रो गर्न सकिन्छ एशियन गेममा गोल्ड मेडल पनि हामी दिन सक्छौ । आफूले खेलेर मात्रै ५० लाख सक्काएपनि आफ्नो खेलप्रतिको लगाव उत्तिकै रहेको २३ वर्षीय सिंजालीले बताए । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिताको थाउलोको छानछवान इभेन्टमा सहभागी २९ वटा देशको भिडन्तमा विजय छैटौँ स्थानमा आएका थिए महिलाको नानछवान इभेन्टमा निमा घर्तिमगर ९ दशमलब ४७६ स्कोर गर्दै चौथो भएकी थिईन् । प्रशिक्षक जुनी राईले प्रतियोगितामा सोचेजस्तो नतिजा आएको बताईन् । उनले यो नतिजाले विश्वकपका लागि पनि राम्रो अवसर खडा गरेको बताईन् ।
प्रतियोगितामा सान्सौंतर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए।
त्यस्तै थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीहरु विजय सिन्जाली, दिपक हमाल र राजिव गुरुङ्गले कास्य पदक जितेका थिए । नेपाली टोलीका टिम ब्यवस्थापक समेत रहेका लामाले नेपाली खेलाडीले चीनमा ऐतिहासिक नतिजा निकालेको बताउँदै अब आगामी दिनमा अझ खेलाडीको प्रर्दशन सुधार्न थप प्रयास गर्ने बताए ।
