वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी-२० श्रृंखलाअन्तर्गत चौंथो खेलमा नेपाल २८ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा जितका लागि वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रनमा समेटियो ।
श्रृंखलामा नेपालको यो लगातार तेश्रो हार हो । यसअघि पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुई खेल क्रमशः १० र ७६ रनले पराजित भएको थियो। यससँगै नेपाल ३-१ ले पछि पाँच खेलको श्रृंखला पाहुना टोलीलाई सुम्पिन बाध्य भएको छ ।
आजको खेलमा नेपालका लागि रोहित कुमार पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ खेल्दा सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान १४ बलमा समान १९ रन जोडे ।
सोमपाल कामीले १०, अभिनाष बोहराले अविजित १७, कुशल मल्लले ४ र कुशल भुर्तेलले १ रन जोड्दा ओपनर आसिफ शेख, प्रतिस जिसी र ललित राजवंशी शून्य रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले अविजित रहँदै ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ तथा जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेले
यस्तै फेबियन एलेनले अविजित ३३ रन जोड्दा ओपनर एलिक एथेनाजे ५ र केसी कार्टी ४ रनमा आउट भए । बलिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक २ तथा प्रतिश जीसीले १ विकेट लिएका थिए ।
नेपालले वेस्ट इन्डिजको कुनैपनि टोलीसँग घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलको यो पहिलो पटक हो। नेपाल र वेस्ट इन्डिजबीचको पाचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
यसै वर्ष हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज आयोजना गरेको हो । यो शृंखलापछि नेपाली टोली आईसीसी टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने तालिका रहेको छ ।
