ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । गुजरातका लागि गिलले ५५ बलमा ९ चौका र ६ छक्का सहित १ सय ४ रन बनाए । सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रन जोडे । डेविड मिलरले १६ रन जोडे ।
चेन्नाईका तुशार देशपाण्डेले २ विकेट लिए ।
जवाफमा चेन्नाईले ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे। महेन्द्र सिंह धोनीले २६ रन र शिवम दुबेले २१ रन बनाए ।
गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दिप वारियरले १-१ विकेट लिए ।
जित पछि गुजरात १२ खेलमा १० अंक सहित आठौ स्थानमा छ । चेन्नाई भने १२ खेलमा १२ अंकका साथ चौथो स्थानमा छ।
आइपिएलमा शनिबार कोलकत्ता नाईट राइडर्स र मुम्बई इंडियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
