नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्‌का श्रीमतीसहित अमेरिका उडिसकेका छन् ।

उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आईसीसीले नै बेहोर्ने गर्छ ।

आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन् । नेपाली टिम झन्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए । यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् । अध्यक्ष चन्द नेपाली कांग्रेसका बैतडी सभापति पनि हुन् । उनले काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि

विश्वकपका लागि अमेरिका लगेको सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ । सचिवसहित अन्य केन्द्रीय सदस्यहरू पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् ।

विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌का अन्य व्यक्तिहरू पनि जाने तयारीमा रहेको बुझिएको छ । तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुऱ्याएका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रक्रिया अन्यौलमा छ । लामिछानेको विश्वकप खेल्ने अन्यौल भएका बेला क्यानका पदाधिकारीहरू श्रीमतीसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ।

यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो । यसबिचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप निकट स्रोतलाई दिए पनि आज दिनभरिमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न नपाउने निश्चित जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *