अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपको वार्मअप खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई पराजित गरेको छ । वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको खेलमा घरेलु टोली ३५ रनले विजयी भएको हो ।
वेस्ट इन्डिजले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि जोश इंग्लिसले ३० बलमा ५५ तथा नाथन एलिसले २२ बलमा ३९ रन बनाए ।
एस्टन अगरले १३ बलमा २८ तथा टिम डेविड र म्याथ्यु वेडले समान २५/२५ रन बनाए । वेस्ट इन्डिजका लागि गुणकेश मोटी र अल्जारी जोसेफले समान २/२ तथा अकिल हौसेन, शेमार जोसेफ र ओबेद म्याकोईले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले २५ बलमा ७५ तथा कप्तान रोभमन पावेलले २५ बलमा ५२ रन बनाए ।
शेरफन रादरफोर्डले १८ बलमा अविजित ४७ तथा जोनसन चार्ल्सले ३१ बलमा ४० रन बनाए । अस्ट्रेलियाका लागि एडम जाम्पाले २ तथा टिम डेविड र एस्टन अगरले समान १/१ विकेट लिए । विश्वकपमा अस्ट्रेलिया समूह बी मा तथा वेस्ट इन्डिज समूह सी मा रहेको छ ।
