कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमसँग कोशी १९ रनले पराजित भएको छ।

दुवै खेलमा पराजित कोशी अंकविहिन छ भने जितसँगै सुदूरपश्चिमले दुई खेलमा चार अंक जोडेको छ। पहिलो खेलमा कोशीले एपिएफसँग २४ रनको हार ब्यहोरेको थियो भने सुदूरपश्चिमले ललिपुर मेयर-११लाई १६ रनले पराजित गरेको थियो।

सुदूरपश्चिमले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो।

कोशीका लागि कोजोल श्रेष्डले ३३ र कप्तान अप्सरी बेगमले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमका लागि ऋतु कनोजिया, लक्ष्मी साउद, जनाकी थापा र कप्तान विन्दु रावलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो। सुदुरपश्चिमका लागि सम्झना खड्काले ५१ बलमा चार चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरिन्। यसैगरी ऋतु कनोजियाले २३ र विन्दु रावलले १४ रन बनाए। कोशीका लागि शवनम राई, हिरनमायी रोय र संगीता राईले समान दुई तथा अलिशा खडियाले एक विकेट लिए।

सोमबार नै सम्पन्न पहिलो खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले बागमती प्रदेशविरुद्ध आठ विकेटको जित निकाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *