आइतबार भएको पहिलो खेलमा विजयी सुरुवात गरेको ललितपुर मेयर्स-११ ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा भने पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ललितपुर सुदुरपश्चिम प्रदेश विरुद्ध डकवर्थ-लुइस-स्टाइन पद्दतिका आधारमा १६ रनले पराजित भएको हो ।
सुदुरपश्चिम प्रदेशले दिएको १२३ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेटको क्षतिमा ४५ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएको थियो । त्यसपछि भने लगतार वर्षाका कारण खेल सुचारु हुन नसकेपछि ललितपुर पराजित हुन पुग्यो ।
डकवर्थ-लुइस-स्टाइन पद्दतिका अनुसार ११ ओभरमा ललितपुरका लागि लक्ष्य ६२ रन रहेको थियो । तर ललितपुरले ४५ रन बनाउँदा खेल पुनः सुरु हुन नसकेपछि ललितपुर पराजित हुन पुग्यो । ललितपुरका कप्तान पुजा महतो १४ र सरस्वति जिएम १२ रनमा अविजित रहे । ओपनरद्वय लक्ष्मी चौधरी र सना प्रभिन क्रमशः १० र ६ रन बनाएर आउट भएका थिए ।
सुदुरका जानकी थापा र ऋतु कनोउजियाले समान १-१ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा क्षतिमा १ सय २२ रन जोड्यो। सुदुरका लागि कप्तान बिन्दी रावलले २८ बलमा ३ चौका सहित सर्वाधिक ३० रन बनाइन् । यस्तै कविता जोशीले २० बलमा २ छक्का प्रहार गर्दै २५ रनमा अविजित रहिन् ।सावित्री धामीले १७, लक्ष्मी साउदले १५ तथा सम्झना खड्काले १३ रनको योगदान गरिन् ।
ललितपुर मेयर्स कपमा आज दिनको १:३० बजे नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्ने तालिका रहेको छ ।
प्रतियोगितामा ५ टोलीले सिंगल राउण्ड रोबिनमा खेल्नेछन् । श्री टोलीले अर्को शनिबार हुने फाइनलमा खेल्नेछन् ।
