टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १:४५ बजे खेल सुरु हुनेछ ।
शुक्रबार सोही टोलीविरुद्धको खेल नेपालले ६ रनले जितेको थियो । नेपालले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य पछ्याएको हरिकेन्सले १ सय ४० रन मात्र बनाएको थियो। यो खेलपछि नेपाली टोली विश्व कप हुने ड्यालास जानेछ । त्यहाँ नेपालले मे २७ मा क्यानाडा र मे ३० मा सह आयोजक अमेरिकासँग दुई अभ्यास म्याच खेल्नेछ ।
जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा टि ट्वान्टी क्रिकेट आयोजना हुनेछ । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ । सन् २०१४ पछि नेपाल पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा छ ।
