⏱️ २०८१ बैशाख १८ गते | ११:२८

नेपाली राष्ट्रिय फुटबल टोली भिसा नआएका कारण बेलायत तर्फ प्रस्थान गर्न पाएको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ ।

भिसा प्रक्रियामा निकै ढिलो हुँदा यसअघि नै एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउने तयारी गरेको थियो । तर भिसा नआएका कारण मंगलबार विहान जाने समूह नै उड्न पाएको छैन। मंगलबार साँझ पनि अर्को समूह रहेको जानकारी प्राप्त भएको छ ।

भिसा नभएको कारण उडान रद्द भएसँगै अब एन्फाले निकै सास्ती खेप्नुपर्ने देखिन्छ । एक त भिसा नै नआएको समस्या । त्यसमाथि रद्द भएको टिकटमा थप आर्थिक भारसँगै छोटो समयमा नै वैकल्पिक उडान खोज्नुपर्ने अवस्था रहेको छ ।

एन्फाले इल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो ।

उक्त कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित रहेका थिए । राजदूत फेनले फुटबल टोलीलाई शुभकामना दिँदै आफूले टोलीलाई पूर्णरूपमा समर्थन गर्ने कुरा व्यक्त गरेका थिए । उनले कार्यक्रमबारे आफूलाई धेरै जानकारी नरहेको पनि बताएका थिए ।

एन्फाले इल्यान्ड भ्रमणमा जाने २३ खेलाडी सहितको नेपाली टोलीको घोषणा समेत गरिसकेको छ। नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र मे ६ मा इङ्ल्यान्ड’ को सामना गर्ने योजना छ । दुवै खेल एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।

नेपाली टोली:

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डरः विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ

मिडफिल्डरः फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी

फरवार्डः अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *