विभूषण कोइराला, भक्तपुर
आज भन्दा एक बर्ष अगाडि, मयन यादव नेपाली क्रिकेटको जगतमा परिचित थिएनन् । नेपाली क्रिकेटमा उडान भर्नका लागि मयनले आफुलाइ काहीं न काहीँ प्रमाणित गर्नु पर्ने थियो र त्यसै अनुरुप उनले आफुलाइ प्रमाणित गर्ने मौका पनि पाए ।
प्रधानमन्त्री कप अन्तर्गत मधेश प्रदेशको टिम छनोट प्रतियोगितामा उनलेे धनुषाबाट खेल्ने अवसर पाए र अवसरको सदुपयोग पनि सहि तरिकाले गरे । पर्सा बिरुद्धको खेलमा ४८ बल खेलेर ३२ रन बनाएका मयनले मधेश प्रदेशका छनोटकर्ताको मन जितेर पीएम कपको लागि छनोट भए ।
देशको सबैभन्दा ठुलो प्रतियोगितामा छनोट भएसँगै मयन सपनाको एउटा खुड्किला माथी उत्रिन सफल भए । दायाँ हाते टप अर्डर ब्याटर मयनले पीएम कपमा खेल्ने अवसर पनि पाए । छनोट प्रतियोगितामा गरेको प्रदर्शन र उनलेे गरेको मेहनतको कारण उनले पीएम कपमा मौका पाए र सोही मौकाको सदुपयोग गर्दै सुदुरपश्चिमबिरुद्ध शतक प्रहार गर्दै ९ इनिङमा ३१.८८ को औसत मा २८७ रन बनाए ।
पीएम कपमा शतक त्यही नि एउटा युवा खेलाडीबाट , त्यो नेपाली क्रिकेटका लागि एउटा अविस्मरणीय क्षण थियो । सोही प्रतियोगिताको आधारमा उनले नेपाल ‘ए’ देखि क्यानडासँग पनि खेले तर प्रदर्शन भने सोचेअनुरुप गर्न सकेनन् ।
प्रधानमन्त्री कपमा सबैको नजरमा बसेका मयनले नरेश श्रेष्ठ मेमोरियल यु १९ प्रतियोगिता पनि खेले । सोही प्रतियोगितामा ६ इन्निङ खेलेका मयनले २५.३३ को औसतले १५२ रन बनाए र नेपाल यु १९ मा पर्न सफल भए र श्रीलंकाबिरुद्ध अर्धशतक समेत बनाए । सोही कारण उनले एनपीएलमा समेत रुपेश सिंहको रीप्लेसमेन्ट स्वरुप जनकपुरबाट खेल्ने अवसर पाए ।
आज भन्दा एक बर्ष अगाडी कसैले नचिनेको मयनले आज नेपाली क्रीकेटमा नयाँ इतिहास रचेका छन् । उनी जय ट्रफीमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । बागमतीबिरुद्ध उनले यो कृतिमान बनाएका हुन् ।
