बुटवल । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिप अन्तर्गत शुक्रबारको दोश्रो खेलमा नेपाल एपीएफ क्लबले रोमाञ्चक जित हासिल गरेको छ ।
बुटवलको रामनगर खेल मैदानमा भएको खेलमा एपीएफले गल्कोट भलिबल क्लबविरुद्ध ३-२ को सेटमा जित निकालेको हो ।
शुरुवाती दुई सेट क्रमशः २५-१५ र २५-२२ ले जितेको एपीएफले त्यसपछिका दुई लगातार २२-२५ र ३१-३३ ले गुमाएपछि खेल २-२ को बराबरी अवस्थानमा पुगेको थियो । त्यसपछि निकैनै प्रतिस्पर्धात्मक बनेको खेलको पाँचौं तथा निर्णायक सेट २०-१८ ले जित्दै एपीएफ विजयी बन्यो ।
एपीएफ र गल्कोटबीचको यो खेल बिहीबार शीतलहरका कारण स्थगित भएको थियो। चौथो सेट चलिरहदा शीतलहर शुरु भएपछि खेल स्थगित भएको थियो। खेलमा तीन सेटको समापन सम्ममा गल्कोटले २-१ को अग्रता लिएको थियो। बिहीबार स्थगित खेल पुनः शुक्रबार खेलाइएको हो ।
यसअघि आजको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरेको थियो । एकेडेमीले रुकुम पश्चिमलाई क्रमशः २५-१९, २५-१४ र २५-२३ को सेटमा हरायो ।
एकेडेमीले दोश्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३-१ को सेटमा पराजित भएको थियो ।
यता रुकुम भने प्रतियोगितामा लगातार दोश्रो हार व्यहोर्न बाध्य भएको छ । रुकुम पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।
शनिवार ३ वटा खेल हुनेछन् । पहिलो खेल एपिएफ र भारतको गुजरात प्रदेश भलिबल एसोसिएसन, दोस्रो खेल मणिमुकुन्द र पुलिस तथा तेस्रो खेल त्रिभुवल आर्मी क्लब र गल्कोटबिच हुनेछ ।
प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।
