हेटौंडा | हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत चितवन र मकवानपुर विजयी भएका छन् । शुक्रबार भएको खेलमा चितवनले काभ्रे र मकवानपुरले धादिङलाई पराजित गरेका हुन् ।

बागमती प्रदेश फुटबल संघको आयोजना भएको दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगितामा हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा भएको पहिलो खेलमा चितवनको भरतपुर फुटबल क्लबले काभ्रेको माउण्ट एभरेष्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अन्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६ औं मिनेटमा सन्दिप केसीले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउण्ट एभरेष्टका लामा घोषित हुँदै ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।

यो खेलसँगै काभ्रे प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको २ खेलमा पराजित भएको काभ्रे अंक विहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । काभ्रे यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबसँग पराजित भएको थियो । चितवन ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । चितवनले काठमाडौँको चित्लाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा धादिङको धुनीवेसी युथ समाजलाई २-१ गोलले हराउँदै मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएको हो ।

पदमपोखरीको तर्फबाट पहिलो हाफको ३८ मिनेटमा गोल गर्दै प्रितम स्याङ्‌बोले अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा ७९ मिनेटमा धुनिवेसका टिम क्याप्टेन श्रीकृष्ण रेग्मीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ८४ औं मिनेटमा मकवानपुरका महेश वाइबाले गोल गर्दै टिमलाई २-१ को जित दिलाए ।

समूह ‘ग’ बाट जित निकालेसँगै पदमपोखरीले ३ अंक जोडेको छ भने धुनिवेसी अंक विहीन अवस्थामा रहेको छ । पदमपोखरीले पुस १४ गते समूह चरणको दोस्रो खेलमा ललितपुरको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने १५ गते धुनिवेसीले ललितपुरसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा जिल्लाको टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *