बुढानिलकण्ठ । प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पा क्लबबीच सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्न यी पक्षबीच औपचारिक सम्झौता भएको हो ।
सम्झौताअनुसार बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू संचालन गरिनेछ । यस पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
सम्झौतापछि प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले भने “यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण हुनेछ ।”
यस्तै हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने “हामीले यो साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।”
यो कार्यक्रमले स्थानीय स्तरमा फुटबलको विकासमात्र नभई समुदायमा खेलकुदको महत्वलाई अझ प्रस्ट बनाउने अपेक्षा गरिएको छ ।
मुख्य उद्देश्यहरूः
– बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने ।
– विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने ।
– आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै फुटबल संरचना सुदृढ बनाउने ।
कार्यक्रमका मुख्य बुँदाः
– हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षकहरू उपलब्ध गराउनुका सथै स्थानीय समुदायमा प्रशिक्षक निकाल्ने ।
– प्याब्सन बुढानिलकण्ठले नगरपालिकाभित्रका विद्यालयहरूमा कार्यक्रम संचालन गर्न समन्वय गर्ने ।
– बालबालिकाको खेल स्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिहरूको आयोजना गर्ने ।
