काठमाडौं | नेपाली मूलका क्यानाडियन किशोर अरोक्य श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा सुरु गरेका छन् ।

१९ वर्षीय अरोक्यले हालै इंग्ल्याण्डको इन्टरनेसनल डिभलपमेन्ट एकेडेमी (आईडीए) मा एक वर्षे फुटबल प्रशिक्षण कार्यक्रम पूरा गरे । जहाँ उनले आर्सनल, रिडिङ र साउथह्याम्टन जस्ता प्रतिष्ठित क्लबहरूसँग प्रशिक्षण गर्ने अवसर पाए ।

हाल क्यानाडाको ब्रिटिश कोलम्बया स्थित भिक्टोरिया शहरमा बसोबास गर्ने अरोक्यले ल्याम्ब्रिक पार्क हाई स्कूल र क्यानाडियन स्पोर्ट्स स्कूलबाट आफ्नो शैक्षिक यात्रा सम्पन्न गरेका छन् ।

फुटबलप्रति सानैदेखि रूचि राख्दै आएका उनले सानिच फ्युजन फुटबल क्लब, भिक्टोरिया युनाइटेड र गोर्ज एफसीजस्ता क्लबहरूमा मिडफिल्डरका रूपमा खेलेका छन् । उनी अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने गर्छन् ।

‘मेरो सपना फिफा विश्वकप २०२६ मा क्यानडालाई प्रतिनिधित्व गर्नु हो,’ अरोक्यले भने । ‘साथै, म नेपाल मा जन्में र हुर्के मलाई त्यही भएर नेपाली राष्ट्रिय टोलीबाट पनि खेल्ने चाहना छ । मलाई आशा छ एकदिन मेरो इच्छा अवश्य पूरा हुनेछ ।’

उनले हालै दुबई र अस्ट्रेलियाको एक महिना लामो भ्रमण सकेका छन्, जहाँ उनले अल वाहदा एफसी, गल्फ युनाइटेड एफसी, मेलबर्न सिटी एफसी र ओकले क्यानन्स जस्ता प्रतिष्ठित क्लबहरूसँग प्रतिस्पर्धा गरे । ‘यस भ्रमणको क्रममा मैले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा गोल पनि गरेँ । यो अनुभव साँच्चै अविस्मरणीय रह्यो, र यस्तो सानो उमेरमा यस्तो अवसर पाउँदा आफूलाई निकै भाग्यशाली ठान्छु’ अरोक्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *