हेटौंडा | हेटौंडामा बुधबारबाट दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता सुरु भएको छ।
हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङ एफसी काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा काठमाडौंका अंकित रास्कोटीले ह्याट्रिक गर्दै आफ्नो टोलीलाई महत्त्वपूर्ण तीन अंंक दिलाए । उनले खेलको छैठौं, २०औं, र ७९औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
ह्याट्रिक गर्दै आफ्नो टोलीलाई शानदार जित दिलाएका रास्कोटी खेलको म्यान अफ द म्याच चुनिए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बिहीबार समूह चरणको २ खेलहरू सञ्चालन हुनेछन् । पहिलो खेलमा दिउँसो १२:३० बजे नुवाकोट र दोलखाबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा भक्तपुर र सिन्धुलीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फामा आबद्ध भएका ११ जिल्लाका फुटबल संघको सहभागिता रहेको छ भने रामेछाप र रसुवा एन्फामा आबद्ध नभएको कारणले सहभागिता रहेको छैन । एन्फाको सहयोगमा सञ्चालन भएको प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहने छ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।
