काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) सम्पन्न भएको छ । गत १६ मंसिरमा सुरु भएको लिग शनिबार फाइनल खेलसँगै समाप्त भएको हो । आठ टिम सहभागी प्रतियोगितामा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।
लिगको समापनसँगै विभिन्न विधाका अवार्डहरू वितरण गरियो । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
जस अनुसार लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् ।

शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको थियो । उपाधि जित्न नसकेपनि समग्र प्रदर्शनको आधारमा दीपेन्द्रले कार पाएका हुन् ।
ऐरीले एनपिएलका कुल ९ खेलमा ९ विकेट लिँदै २२७ रन जोडेका थिए ।
चाइनिज कार ओमोडा इ-५ को मूल्य ६२ लाख रूपैयाँ छ । यसअघि नेपाल क्रिकेटले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको थियो ।
यस्तै, जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले बाइक पाएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन् । उनले प्रतियोगितामा १० खेलमा १७ विकेट लिए ।

त्यस्तै, कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्मा इमर्जिङ खेलाडी घोषित भए । १६ वर्षीय विपिनले ८ खेलमा १३ विकेट लिएका थिए । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सुदूरपश्चिमका सइफ जैइब प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उनले २७५ रन र १२ विकेट लिएका थिए । उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
एनर्जेटिक प्लेअरको अवार्ड जनकपुर बोल्ट्सका जिमी निसमले जितेका छन् । उनले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।
