इलाम | झापाको दूधे युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै दूधे सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको २२औं मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्दै दूधेलाई अग्रता दिलाएका थिए । तर, खेलको ३६औं मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले बराबरी गोल गरे ।

खेलको निधारित समयमा दुवै टिमले एक- एक गोलको बराबरी खेलेपछि नतिजा टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा दूधेको जितमा विशाल तामाङ, प्रदीप बुढाथोकी, तकेन मगर र सञ्जोग मगरले गोल गरे । चुलाचुलीका लागि भने सञ्जय लिम्बू र पूजन चौधरीले मात्र गोल गरे । समीर तामाङ र सुजन चौधरीको प्रहार दूधेका गोलरक्षक सन्दीप लिम्बूले बचाएका थिए ।

खेलको म्यान अफ दी म्याच दूधेका गोलरक्षक सन्दीप लिम्बू घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

बुधबार तिजोक युवा क्लब, पाँचथर र पाहुना टोली एमएफसी दार्जिलिङ, भारतबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *