नेपालमै पहिलोपटक चार हजार मिटर बढी उचाइमा भएको महिला ट्रेल रेसको उपाधि खोटाङकी निर्मला राईले जितेकी छिन् ।

विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा भएको ‘पाँच पोखरी विमन ट्रेल रेस-२०८१’ को उपाधि राईले जितेकी हुन् । उपाधि जित्ने क्रममा राईले २८ किलोमिटरको दूरी २ घण्टा २८ मिनेटमा पूरा गरेकी हुन् ।

यस्तै, २ घण्टा ४९ मिनेटमा दौड पूरा गर्दै ओखलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो भइन् भने हेलम्बुकी नितु तामाङले २ घण्टा ५८ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थान हासिल हात पारिन् ।

पहिलो भएकी राईले ५० हजार, दोस्रो भएकी २५ र तेस्रो भएकी नितुले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दौडमा सहभागी ५४ वर्षीया सुकुमाया विकले मायाको चिनो स्वरुप नगद पुरस्कार प्राप्त गरेकी थिइन् ।

रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरेकी थिइन् । दौडमा ५१ जनाले भाग लिएका थिए । पाँचपोखरी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएको पहिलोपटक भएको बताइन् ।

विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष माया गुरुङले आमाछोरीदेखि दिदीबहिनीसम्म दौडिएको बताइन् । पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामाले सन् २०१७ मा गाउँपालिकालाई पर्यटनको हब बनाउन म्याराथन प्रारम्भ गरेको बताए । प्रतियोगितामा विभिन्न जिल्लाका ५१ जना सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *