इरानको एन्जल शहरमा हुने सिनियर वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा सहभागी हुने ६ खेलाडी सहित ९ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाई गरिएको छ।
आगामी बुधवारदेखि सोमवारसम्म आयोजना हुने पहिलो संस्करणको वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रस्तुत गर्ने भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाइ गरे ।
यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दै छन् । यो प्रतियोगिताका लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो। यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।
विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन्। टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिए ।
