अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको कार्यसमिति बैठकले प्रशिक्षक एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।
सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका एनेसको यसअघि तीन महिला सम्झौता थप गरिएको थियो । गत सिजनमै उनको सम्झौता सकिएको थियो र त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा नयाँ प्रशिक्षक खोज्नेमा कुनै निर्णय गरेको थिएन ।
एन्फा बैठकमा नयाँ प्रशिक्षक ल्याउनुपर्ने र खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक ल्याउने विषयमा छलफल भएको थियो । एनेसको सम्झौता थप नगर्ने र नयाँ प्रशिक्षका लागि आह्वान गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
नेपाली राष्ट्रिय टिमले अब आधिकारिक खेल अर्कै वर्ष मार्चमा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।
