घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि-२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ ।
पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा कास्कीले प्रस्तुत गरेको १०८ रनको लक्ष्य स्याङ्जाले १३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
स्याङजाका लागि करण पगेनीले ३६ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४१ रनको योगदान गरे । यसैगरी सन्दिप खत्रीले ३६, अंकित न्यौपानेले अविजित ११ र सुजन गौतमले १० रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।
कास्कीका लागि सिव्रिन श्रेष्ठ १८, अभिषेक थापाले, १७, सोहेल कुंवर र रोहित चन्दले समान १४, कृष्ण पौडेलले १३ र विपिन खत्रीले १२ बनाए ।
उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे ।
