सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिका र कटारी नगरपालिकाका महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न पहिलो सेमिफाइनलमा महिला बुढानिलकण्ठ नगरपालिकालाई पराजित गर्दै फिक्कल उपाधि नजिक पुगेको हो । दुवै टिमबाट स्कोर हुन नसकेपछि कम फल गरेको आधारमा फिक्कल फाइनल पुगेको हो ।
महिलातर्फकै अर्को सेमिफाइनल खेलमा टोखा नगरपालिकालाई २-१ ले हराउँदै कटारी नगरपालिका फाइनलमा पुगेको हो । अब उपाधिका लागि कटारी र फिक्कल १२ बजे भिड्नेछन् ।
यस्तै, पुरुषतर्फको सेमिफाइनलमा गोलबजार नगरपालिकालाई हराउँदै कटारी फाइनलमा प्रवेश गरेको हो । अर्को सेमिफाइनलमा घरेलु टोली फिक्कलले बुढानिलकण्ठलाई ३-१ ले हराउँदै उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि फिक्कल र कटारी दिउँसो १ बजे खेल्नेछन् ।
त्यसअघि तेस्रो स्थानको लागि बुढानिलकण्ठ र गोलबजार खेल्नेछन् । फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा आइतबारदेखि सुरु भएको प्रतियोगिता आजै समापन हुनेछ ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दुवै विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
