रङ्गेली (मोरङ) । प्रदेशस्तरीय प्रथम रङ्गेली महिला भलिबल प्रतियोगिता २०८३ अन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।

रङ्गेली नगरपालिका–२ बिरेनियास्थित खेलमैदानमा आइतबार सम्पन्न खेलमा इनस्पायर क्लब, लेटाङ नगरपालिका, पाँचथर र प्रगतिशील युवा क्लबले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् ।

प्रतियोगिताअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा प्रगतिशील युवा क्लबले रामधुनी गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा इनस्पायर क्लब र पाँचथरबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा इनस्पायर क्लबले २५–११ र २५–१८ को सेटमा पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

आइतबारै सम्पन्न तेस्रो खेलमा लेटाङ नगरपालिका र गुद्री ट्रेनिङ सेन्टर, विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लेटाङ नगरपालिकाले २–० को सोझो सेटमा गुद्री ट्रेनिङ सेन्टरलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

यसैबीच, आइतबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लेटाङ नगरपालिका र खोटाङबीच प्रतिस्पर्धा भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लेटाङले १३–२५, १९–२५ र २३–२५ को सेटमा खोटाङलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

आज सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा प्रगतिशील युवा क्लब र इनस्पायर ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोलीले फाइनलमा लेटाङ नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

महिला भलिबल खेलको विकास, खेलाडीको प्रतिभा उजागर तथा महिलालाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *