सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा आइतबारदेखि दोस्रो शिखर ढकाल स्मृति यू–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता सञ्चालन हुने भएको छ ।
फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषतर्फ गरी कुल ११ टोली सहभागी हुनेछन् ।
गत वर्ष फिक्कल गाउँपालिकाकै आयोजनामा पहिलो शिखर ढकाल स्मृति यू–१६ राष्ट्रिय रग्बी प्रतियोगिता सम्पन्न भएको थियो । स्वर्गीय शिखर ढकालको स्मृतिमा प्रतियोगिता आयोजना गरिँदै आएको हो ।
यस वर्षको प्रतियोगितामा पाँच प्रदेशका स्थानीय तहका टोली सहभागी रहेका छन् । प्रतियोगिता लिग तथा नकआउट प्रणालीमा सञ्चालन हुनेछ । महिलातर्फ ६ र पुरुषतर्फका ५ टोलीलाई छुट्टाछुट्टै दुई समूहमा विभाजन गरिएको छ ।
पुरुषतर्फ समूह ‘ए’ मा टोखा नगरपालिका, गोलबजार नगरपालिका र फिक्कल गाउँपालिका छन्। समूह ‘बी’ मा बूढानीलकण्ठ नगरपालिका र कटारी नगरपालिका रहेका छन् ।
महिलातर्फ समूह ‘ए’ मा टोखा नगरपालिका, गोलबजार नगरपालिका र बूढानीलकण्ठ नगरपालिका छन् । समूह ‘बी’ मा कटारी नगरपालिका, फिक्कल गाउँपालिका र लुम्बिनी नगरपालिका रहेका छन् ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टोलीले २० हजार तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । अन्य सहभागी टोलीलाई प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीयस्तरबाटै रग्बी खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले युवा खेलाडीको प्रतिभा पहिचान र राष्ट्रियस्तरमा उनीहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
गत संस्करणमा पुरुषतर्फ कर्णाली प्रदेश र महिलातर्फ कटारी नगरपालिकाले उपाधि जितेका थिए । यसपटक दुवै विधाका टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
