आगामी डिसेम्बर २ देखि १३ ९२०८३ मङ्सिर १६ देखि २७० सम्म कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहभागी हुने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेम राज शर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले विदेशमा बसोबास गर्ने प्रतिभावान् नेपाली खेलाडीलाई सहभागी गराउन संघले खेलाडी छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकले विदेशमा रहेका इच्छुक र दक्ष नेपाली खेलाडीबाट खुला आवेदन माग गर्ने निर्णय गरेको छ। प्राप्त आवेदनका आधारमा निष्पक्ष प्रक्रिया अपनाएर उत्कृष्ट खेलाडी छनोट गरिने संघले जनाएको छ।
प्रतिस्पर्धा गर्न चाहने खेलाडीले तोकिएको समयभित्र आफ्नो खेल विवरण र प्रमाणसहित आवेदन दिनुपर्नेछ । छनोट भएका खेलाडीले एनआरएनएको झन्डामुनि विभिन्न खेलमा पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभा समेटेर दशौँ संस्करणलाई उपलब्धिमूलक बनाउने संघको तयारी छ ।
एनआरएनएले आठौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएको थियो। लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको त्यो प्रतियोगितामा पौडी, मार्सलआट्स, लनटेनिसलगायत केही खेलमा मात्र प्रतिस्पर्धा गरेको थियो । एनआरएनए विभागीय हैसियतमा सहभागी हुँदै आएको छ ।
यसैगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले दायरा फराकिलो बनायो । सात प्रदेश र तीन विभागीय टोली ९त्रिभुवन आर्मी क्लब, एपीएफ र नेपाल पुलिस क्लब० सहित कुल ११ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कांस्यसहित कुल २६ पदक जित्यो । पदक सङ्ख्याका आधारमा एनआरएनए आठौँ स्थानमा रह्यो, जसले लुम्बिनी र मधेस प्रदेशलाई पछि पार्यो । १० स्वर्ण जित्ने प्रदेश १ र सुदूरपश्चिम प्रदेशको बराबरी उपलब्धि एनआरएनएले हासिल गर्यो ।
त्यस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदक जितेर च्याम्पियन बनेको थियो । एपीएफ दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भएको थियो । दशौँ संस्करणको आयोजक कर्णाली प्रदेश २ स्वर्ण, ४ रजत र १२ कांस्यसहित १८ पदक जितेर अन्तिम स्थानमा रहेको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने यो प्रतियोगिताले प्रदेशको खेलकुद पूर्वाधार विकास, पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । एनआरएनएले नवौँ संस्करणको उपलब्धिलाई आधार मानेर दशौँमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।
