थ्री स्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा-११ अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितालो सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै झापा–११ ले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयमा दुबै टोलीबाट २-२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट निकालिएको थियो ।

टाइब्रेकरमा झापाका रोमन भुजेल, प्रशान्त लक्सम, प्रदीप बुढाथोकी र निखिल तामाङले गोल गरे । थ्री स्टारका सागर तिवारी, दोर्जे तामाङ र दिवश उराउले गोल गर्दा सुजन चौधरी र लेकन राईको प्रहार झापाका गोलरक्षक योगेश धिमालले रोकेका थिए ।

यसअघि खेलको ३२औं मिनेटमा झापाले प्रताप चाम्लिङ राईको गोलबाट अग्रता लिएको थियो । ५७औं मिनेटमा थ्री स्टारका मिलन चाम्लिङ राईले बराबरी गोल गरे ।

६३औं मिनेटमा क्रिसल थापाले गोल गर्दै थ्री स्टारलाई २-१ को अग्रता दिलाए । तर, ७६औँ मिनेटमा झापाका रोमन भुजेलले बराबरी गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच झापा गोलकिपर योगेश धिमाल घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

झापाले फाइनल प्रवेशका लागि बुधबार भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबारको चौथो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र रेडहर्स इलामबिच प्रतिस्पर्धा हुनेछ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका -१ स्थित पथरी रङ्गशालामा असोज २४ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ ।

पथरी-११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *