नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ ।
दैलेखबाट हिकमत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट भएका हुन् ।
यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो । सुर्खेतमा २ सय ६ र सल्यानमा १ सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए ।
कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । प्रशिक्षक बस्न्यातले अहिलेसम्मकै धेरै खेलाडीको सहभागिताले उत्साही भएको भन्दै खेलाडीको यो सङ्ख्याले कर्णालीमा क्रिकेट क्रेज बढेको संकेत गरे । साथै उनले अब तीन खेलाडीलाई क्याम्पमा राखिने र क्याम्पपछि १ खेलाडी कर्णाली याक्सको लागि अन्तिम छनोटमा पर्नेछ ।
ट्यालेन्ट हन्टमा कर्णाली याक्सका खेलाडीहरू विपिन शर्मा, युनुस विक्रम सिंह, दिवान पुन, दीपेन्द्र रावत, सचिन शर्मा र सुर्य तामाङ तथ टिम एनालिष्ट रवि थापाको सहभागिता रहेको थियो ।
