मोरङको सतिसाले फुटबल क्लबले प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा फ्युजन फुटबल क्लब, उदयपुरलाई ३-० गोलअन्तरले पराजित गर्दै सतिसालेले उपाधि हात पारेको हो ।

सतिसालेको जितमा बिनोद राई, बिकाश परियार र साजन बर्देवाले समान एक-एक गोल गरे । फाइनल खेलको म्यान अफ दि म्याच फ्युजनका निश्चल मोक्तान घोषित भए । उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै सतिसालेले प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि बर्चस्व कायम गरेको छ । उत्कृष्ट गोल किपर सतिसालेका बिपुल मगर, उत्कृष्ट डिफेन्डर सतिसालेकै संजय श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर पनि सतिसालेकै बिकाश परियार, उत्कृष्ट फरवार्ड सतिसालेकै बिनोद राई, उत्कृष्ट प्रशिक्षक पनि सतिसालेकै सुरेन मगर, उदयीमान खेलाडी आयोजक ताततलैया फुटबल क्लबका आरोश चौधरी घोषित भए । उनीहरु सबैले ३ हजारका दरले पुरस्कार प्राप्त गरे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन/तीन गोलकर्ता फ्युजनका पमिन मगर, कुशुमे साईनिङ क्लबका अमित बेस्रा र महुली फुटबल क्लबका अर्जुन राना भए । उनीहरूले समान ३-३ गोल गरेका थिए । उनीहरूलाई नगद ३ हजार ५ सय पुरस्कारबाट दामासाहीरुपमा प्रदान गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने फ्युजनका बिशाल मगर घोषित भए । उनले नगद ४ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेता सतिसालेले १ लाख ११ हजार १ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फ्युजनले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई समापन कार्यक्रमकी प्रमुख अतिथी कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिना लगायतले पुरस्कार राशि, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल दश टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता असोज १ गतेदेखि सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *