काठमाडौं । युरो स्कुल, हात्तीगौडा र मातृभूमि जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

युरोले केएमसीलाई ४०–१९ ले पराजित गर्यो । युरोको जितमा रुवेन घिमिरेले १० अंक योगदान गरे ।  रवि आभासको १९ अंक सहयोगमा मातृभूमिले युरो, हात्तीगौडालाई ४९–३२ ले हरायो ।

मातृभूमि समूह ‘ए’ को विजेता तथा युरो, हात्तीगौडा सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । ब्वाइज बास्केटबलमै एआईएले ग्रिनलन्सलाई २६–२४ तथा मिल्सबेरीले पनि ग्रिनलन्सलाई नै २६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

एआईएका सन्भड शाहीले ८ तथा मिल्सबेरीका अर्चन कार्कीले ६ स्कोर गरे । क्वाटरफाइनल न्युटन र युरो, हात्तीगौडा, मातृभूमि र एआईए, हेम्स र विल्सन एकेडेमी तथा गण्डकी र एचएचसीएबीच हुनेछ ।

गर्ल्समा न्युटनले आयोजक जोन डेवीलाई २३–१२, भ्याली पब्लिकले द एक्सेल्सियर स्कुललाई २४–१०, बौद्ध चिल्ड्रेन हेभेन स्कुलले युरो, छाउनीलाई ३४–११ तथा ल्यान्डमार्क एकेडेमीले राई स्कुललाई ११–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

न्युटनकी आईरिन रानाले १०, भ्याली पब्लिककी सोनीमाया तामाङले १४, बौद्धकी जस्मिन गुरुङले ८ र ल्यान्डमार्ककी प्रतीक्षा राईले १० अंक बटुले । क्वाटरफाइनलमा सत्य साइले निम्स, बौद्धले न्युटन, मातृभूमिले टीआईए र भ्याली पब्लिकले ल्यान्डमार्क विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

फुटसल: जोन डेवी दोहोरो उपाधि नजिक

प्रतियोगिताअन्तर्गत फुटसलमा आयोजक जोन डेवीको यु–१२ ब्वाइज र गल्र्स दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यु–१२ ब्वाइजमा जोन डेवीले बृहस्पति विद्या सदनलाई १–० गोलले पराजित गर्यो । रेनभ कुमारले निर्णायक गोल गरे ।

उपाधिका लागि जोन डेवीले राई स्कुल विरुद्ध खेल्ने छ । अर्को सेमिफाइनलमा राईले डाफोडिल पब्लिक स्कुललाई २–० गोलले हराएको थियो । राईका आभास रेग्मी र रिहानकुमार श्रेष्ठले गोल गरे । गर्ल्समा जोन डेवीले इस्टपोललाई ७–० को फराकिलो गोलअन्तरले पाखा लगाउदै ग्यालेक्सीसंग फाइनल भेट पक्का गरे ।

जोन डेवीका रियान्सी त्रिपाठीले ह्याट्रिक गरिन् भने आस्ना श्रेष्ठ, दिभिसा शर्मा र जेनी स्याङ्बोले समान १–१ गोल थपे । एक गोल आत्माघाती थियो । ग्यालेक्सीले नर्थ भ्याली ‘ए’ लाई टाइब्रेकरमा २–० गोलले पन्छायो ।

प्राची र टासी शेर्पाले गोल गरे । यु–१६ ब्वाइजमा काष्ठमण्डप विद्यालय र ग्यालेक्सी उपाधिका लागि भिड्ने भएका छन् । काष्ठमण्डपले वेदव्यासलाई २–१ गोलले पराजित गर्यो ।

काष्ठमण्डपका ग्रिस घिमिरे र सुप्रिम प्रताप बोहराले गोल गरे । वेदव्यासका अभिषेक राईले सान्त्वना गोल फर्काए । ग्यालेक्सीले द चाँदबाग स्कुललाई २–१ गोलले हरायो । ग्यालेक्सीका सोयम निरौला र प्रदेश भण्डारीले १–१ गोल गरे । चाँदबागका प्रज्ज्वल आले मगरले १ गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *