काठमाडौं । तेस्रो संस्करणको हिमालयन गोल्डकप फुटसल प्रतियोगिता आगामी बिहीबार र शुक्रबार दुई दिन आयोजना हुने भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो ।
हिमालयन फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, फेयर प्लेय टिमले २० हजार रुपैयाँ पाउनेछ । विधागततर्फ उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार तथा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकले समान ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी टोली सहभागी हुने क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए । त्यसमध्ये पाँच टोली बाहिरी जिल्लाबाट सहभागी हुनेछन् । बाहिरी जिल्लाबाट आउने टोलीका लागि आयोजकले खाना र आवासको व्यवस्था गर्ने जनाएको छ ।
यस वर्ष प्रतियोगितालाई सामाजिक सहयोग अभियानसँग समेत जोडिएको छ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि प्रतियोगिताका क्रममा सहयोग सङ्कलन अभियान सञ्चालन गरिनेछ । सङ्कलित रकम विपद् प्रभावित तथा पीडित परिवारको राहत र सहयोगमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल रोयल नेपाल फुटसल मैदान, पेप्सीकोलामा हुनेछन् । यसअघिका दुवै संस्करणको उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
