काठमाडौं। ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन् ।

यो संगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी छिन् ।

राखेपले हिजो विहिवार उनलाई नियुक्ति पत्र दिएको हो । संगिना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २००४ को ग्रिसमा सम्पन्न ओलम्पिकमा छनोट चरण पार गरेकी थिइन् । त्यसैगरी एसियाली स्तरको खेलमा नेपालबाट स्वर्ण पदक जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन् ।

उनले सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । सन् १९९९ काठमाडौं र सन् २००४ पाकिस्तानमा गरी दक्षिण एसियाली खेलकुद (साग) मा दुईवटा स्वर्ण पदक जितेकी संगिना राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रुपमा छन् ।

यसअघि संगिनालाई टंकलाल घिसिङ सदस्य सचिव भएको बेला विसं २०८१ सालमा नै तालिम तथा प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिने तयारी भएको थियो । तर तत्कालिन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा करातेका प्रशिक्षक शोभित प्रसाँईलाई निर्देशक बनाएपछि सो विषय विवादित बन्न पुगेको थियो । जसका कारण संगिनाले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट संगीना वैद्यले राजीनामा दिएकी थिइन् ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकारमा खेलकुद मन्त्री सस्मित पोखरेल आएपछि अन्तत: संगिना निर्देशकमा चयन भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *