काठमाडौं । पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको एनभीएलको पहिलो संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्स आमनेसामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
पहिलो दिनको दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ७ बजे सुरु हुनेछ ।
लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।
एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।
एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।
