काठमाडौं । हार्दिक फिटनेसको २९ औं वार्षिकोत्सव अन्तर्गत भएको खुला पिकलबल प्रतियोगतामा सुवर्ण शाह पुरुष एकल र डबल्समा च्याम्पियन भएका छन् ।
पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रनव खनाललाई सजिलै ११-४, ११-१ ले हराए । यसैगरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११-५ र ११-२ ले हराएर उपाधि जित्यो ।
पुरुष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई ११-३, ५-११ र ११-८ ले हराएर तेस्रो स्थान हासिल गरे । यसैगरी पुरुष डबल्सअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा कृष्ण अग्रवाल र मनोज कुमारको जोडीले रोहित चाम्लिङ र बेदकुमार तामाङको जोडीलाई १०-१२, ११-७, ११-७ ले हरायो ।
प्रत्येक इभेन्टको शीर्ष तीन स्थानमा रहने खेलाडीले जनही ३० हजार, १५ हजार र ५ हजार रुपियाँ प्राप्त गरे । यसैगरी सबै विजेतालाई गिफ्ट ह्याम्परसहित हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरियो ।
नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका थिए ।
