काठमाडौं भदौ ४ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गईरहेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण यही भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ । इम्बार्क कलेज अवार्ड कार्यक्रममा ‘Higher Education Partner’ को रुपमा जोडिएको हो । ‘Higher Education Partner’ बनेबापत मञ्चले छनौट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाख सम्मको) प्रदान गर्नेछ । मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रमहरुमा इम्बार्क कलेजले सहयोग गर्नेछ ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आसिस ठाकुरको तर्फबाट निरज न्यौपानेले हस्ताक्षर गरे । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै ठाकुरले आगामि दिनमा सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को २३औं संस्करणको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

नेपाली खेलकुदलाई उच्च स्थानमा पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भईसकेको छ । यसपटक फुटबलकी पूजा राना, मिक्सड मार्शल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ यो विधाको मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरुलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *