लन्डन । मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा रहेको बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ ।
२२ वटा टिम र १३८ जना व्यक्तिगत खेलाडीको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताको टिम विधामा विजेता बन्दै वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद प्राप्त गर्यो भने इन्टेक ९६ उपविजेता बन्दै ट्रफीसहित २५० पाउन्ड हात पार्न सफल भयो ।
खेलकुदका माध्यमबाट बेलायतस्थित नेपाली समुदायमा एकता, मित्रता र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजित यस प्रतियोगितालाई मगर संघ यूके, क्याप्टेन ताम बहादुर ढेंगा र ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेका थिए ।
व्यक्तिगत स्पर्धाको ग्रसतर्फ गजेन्द्र गुरुङ विजेता र संजीव राई उपविजेता बने भने नेट विधातर्फ सोम थुलुङ्ग विजेता र क्याप्टेन तम ढेगा उपविजेता घोषित भए । यी दुवै विधाका विजेताहरूले जनही २५० पाउन्ड नगद पुरस्कार प्राप्त गरे । ५५ वर्षमाथिको उमेर समूहमा नारायण गुरुङ प्रथम र चीन थापा एमभीओ दोस्रो भए ।
त्यस्तै डिभिजनगत स्पर्धातर्फ डिभिजन ‘ए’ मा आशिष गुरुङ विजेता र सरोज राई उपविजेता, डिभिजन ‘बी’ मा गिरिराज लिम्बु विजेता र पदम श्रीश उपविजेता तथा डिभिजन ‘सी’ मा मिस मिनर्वा रोका मगर विजेता र मदन लिम्बु उपविजेता बने । नोभल्टी विधातर्फ एनटीपी पुरस्कार प्रकाश गुरुङ्ग, एनटीपी थर्ड रमेश राई, सिनियर्सतर्फको लङ्गेस्ट ड्राइभ प्रदीप राई र ओपनतर्फ वरेन लिम्बुले आफ्नो नाममा पारे ।

प्रतियोगिता समापनपश्चात् अल्डरशटस्थित ठमेल रेस्टुरेन्ट एन्ड बारमा भव्य पुरस्कार वितरण समारोह तथा रात्रिभोज आयोजना गरिएको थियो । मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयोजक क्याप्टेन ताम बहादुर ढेंगाले स्वागत र देव राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
समारोहमा नेपालबाट पुगेका चर्चित कलाकारहरू निता थापा मगर, सरिश्मा राम्जाली मगर, बिमला घर्ती मगर र कामना ओलीलगायतका स्रष्टाले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए । अध्यक्ष पुनले खेलाडीहरूको व्यापक सहभागिताले प्रतियोगितालाई अत्यन्त प्रतिस्पर्धात्मक र रोमान्चक बनाएको बताउँदै सम्पूर्ण सहयोगी, प्रायोजक तथा सदस्यहरूप्रति आभार व्यक्त गरे ।
