काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गर्ल्स र भक्तपुर निस्ट सिनियर गर्ल्समा च्याम्पियन बने ।
जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञा कुञ्जलाई ४–१ गोलले पराजित गर्यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा जोन डेवीले इम्पेरियल वल्र्डलाई ६–० गोलले हरायो ।
सिनियर ब्वाइजको फाइनलमा भक्तपुर निस्टले कान्जिरोवामाथि २–० को जित दर्ता गर्यो । जुनियर ब्वाइजमा सिद्धार्थ वज्रचार्य उत्कृष्ट खेलाडी, आयुश खत्री उत्कृष्ट गोलरक्षक र सिभांकराज भट्टराई उदीयमान खेलाडी घोषित भए । तीनै काष्ठमण्डपका हुन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको प्रतियोगिताको सिनियर गल्र्समा जोन डेवीकी तनिष्का विष्ट, इम्पेरियलकी मान्या शाह उत्कृष्ट गोलरक्षक र जोन डेवीकी जेनी स्याङबा उदीयमान खेलाडी चुनिए ।
सिनियर ब्वाइजमा कान्जिरोवाका सन्चितनाथ गंगाल उत्कृष्ट खेलाडी, भक्तपुर निस्टका आयाम आचार्य उत्कृष्ट गोलरक्षक र भक्तपुर निस्टकै स्यारोन कटुवाल उदीयमान खेलाडी ठहरिए ।
विजेतालाई पूर्व फुटबलर नवीन न्यौपाने, काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, कान्जिरोवाका प्रिन्सिपल समेत रहेका क्युकेएसका अध्यक्ष रन्जित थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगिताको जुनियर ब्वाइजमा १५, सिनियर गल्र्समा १२ र सिनियर ब्वाइजमा १६ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
